सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन लोककी माता पनि भनिन्छ । पर्वत राजाकी छोरी गौरी हाम्री माता दुर्गालाई बारम्बार नमन गर्छौं। हामी उनको पूजा गर्छौं।आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।
जौलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो ।
नवरात्रिको सुरुवात आजबाट भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।
१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ ।