Logo

विश्व रेबिज दिवस/अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस ( World Rabies Day/International Day for Universal Access to Information )

विश्व रेबिज दिवस/अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस ( World Rabies Day/International Day for Universal Access to Information )
2026-09-28 91 0

रेबिज के हो ?

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।

कृषी अनि जनावर पालन मानव सभ्यताका नितान्त नियमित क्रमहरू हुन र जनावरसगको संसर्ग अनि जनावरको वाक्लो उपस्थिती भएका वस्ति, समूदाय र संस्कारमा २० सौं शताब्दि अगावै रेविजको संक्रमण एकदमै धेरै देखिएको थियो । २०औँ शताब्दीको शुरुवातसंगै विकसित देशहरु र रेविजले धेरै प्रभावित मध्य यूरोपमा रेविजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसको मूल कारण जनचेतना र रेविज विरुद्धको खोप नै हो । अब विकसित देशहरुमा रेविजको संक्रमण नगण्य छ तथापि हाम्रो जस्तो विकासोन्मुख देशमा रेविजको संक्रमण छिटपुट रुपमा भएपनि देखिंदै, सुनिदै आएको छ । नेपालका मुख्य मुख्य शहरहरु लगायत शक्तिकेन्द्र राजधानी मा समेत छाडा कुकुरहरु हरेक चोक र चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।

रेबिज दिवसको पृष्ठभूमि

सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । तपाईं-हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु अावश्यक देखिन्छ । यसरी संसारभर रेविज रहित समाजको स्थापनार्थ एकताकालागि भेला हुने मान्छेहरु सबैजना तपाई-हामी जस्तै हुन् । यो संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छाैं, तसर्थ ध्यान पुर्याउन जरुरी छ । आजको दिन रेविजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा हामीसबै संगै भएर जागरुक भएमा रेविजलाई संसारबाटै उन्मूलन गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस


सूचनामा पहुँचको महत्त्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र स्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो । सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन्।

सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ । शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ।

सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा "UNESCO" कार्यरत छ। सूचनाको पहुच नभई कुनै पनि मानिस लै जुनै सुकै निर्णय पनि लिन सक्दैन।