हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् । विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।
