मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर र्फकन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।
एक दिन पानी परिरहेको थियो । अलिअलि जाडो थियो । मैले राजकुमार भ्यागुताको कथा सुनाउन थालेँ । तर कथा सुरु हुने बित्तिकै माया निदाइहाली । मलाई कथा सुनाउन अल्छी लाग्यो । मलाई पनि निँद लाग्यो ।
सपनामा पनि टाटे र पाटे दुबैले बडो ध्यान दिएर मेरो कथा सुनिरहेका थिए । मैले कथा भन्न छाडेको देखेर टाटे ‘कुइँ कुइँ’ करायो । पाटे पनि खाटमुनिबाट निस्केर ‘म्याउँ म्याउँ’ गर्न थाल्यो ।
“हुन्छ, हुन्छ । म कथा सुनाउँछु ।” मैले भनेँ । ती दुबै खुशी भए, र मतिर ध्यान दिएर हर्न थाले । मैले सुनाउन लागेको कथा तिनीहरुकै कथा थियोः
“यो घरमा आउँदा सुरुमा टाटे र पाटे खुबै झगडा गर्थे । एक अर्कालाई देखी सहँदैनथे । एक दिन टाटेको भागमा राखेको मासु पाटेले चोरेर खाइदियो । ….”
“होइन यो कुरा झुटा हो । त्यो दिन मैले मासु चोरेको थिइन । मेरो भागमा पनि मासु थिएन । दुबैको भागको मासु ढड्डु मुसाले खाएको थियो । फ्वाक्कैमा ममाथि शंका गरेर टाटेले मलाई झम्टेको हो । यस्तो झुठो आरोप लाग्यो भने टाटेलाई पनि रिस उठ्छ । उठ्दैन त टाटे ?” अचानक पाटेले आफू निर्दोष भएको कुरा सुनायो ।
“मलाई त तिमीमाथि नै शंका लागेको थियो । अहिलेसम्म पनि त्यो शंका मेटिएको छैन बुझ्यौ ।” टाटे कुकुरले पाटेको कुरा पूरै पत्याएको थिएन ।
“त्यसो भए त्यो ढड्डु मुसालाई सोध । सबै कुरा थाहा भइहाल्छ ।” पाटे बिरालोले भन्यो ।
उसको कुरा टुँगिन नपाउँदै दुलोबाट ढड्डु मुसा फुत्रुक्क बाहिर निस्क्यो । ऊ बिरालोसँग सतर्क हुँदै टेबुलमाथि पुग्यो र भन्न थाल्यो, “हो, हो । त्यो दिन तिमीहरुको भागको मासु सुटुक्क खाइदिएर तिमीहरुलाई लडाएको मैले नै हो ।” यति भन्दै ऊ मज्जाले हाँस्यो ।
“कस्तो बदमास रहेछ यो । आफूले मासु खाएर हामीलाई लडाउने ?” कुकुरले ठूलाठूला आँखाले ढड्डुतिर हेर्दै भन्यो । “त्यो दिन झण्डै हामी दुबैलाई घरपेटीले घरबाट निकालेको । रातभरि बाहिर बस्नुपर्यो । किन यस्तो बदामासी गरेको ?”
मुसा फेरि जोडले हाँस्यो । उसले कम्मरमा हात राख्दै भन्यो, “तिमीहरुलाई घरपेटीले यो घरबाट निकालेको भए त मलाई हाइसँचै हुन्थ्यो नि !”
उसको कुरा सुनेर कसलाई रिस नउठला ? मैले भनेँ, “मेरै भान्छाको खानेकुरा, माछामासु चोरर मोटाएका छौ अझै मलाई नै आँखा तर्र्छौ ? धेरै फुर्ती लायौ भने तिम्रो पूरै वंशलाई धपाइ दिन्छु ।”
“भो भो धेरै धक्कु नलाऊ । सक्ने भए गरिसक्थ्यौ । बिरालो र कुकुरको मदत लिनु पर्दैनथ्यो ।” यति भनेर ढड्डु मुसा टेबुलबाट बुरुक्क उफ्रेर दुलोभित्र पस्यो । पाटेले झम्टन खोज्यो तर भेट्टाउन सकेन । ‘ङ्यार्रर्र’ गरेर रिस पोख्यो ।
कोठाभित्र धेरै हल्ला भएकोले मायाको निद्रा खुल्यो । उसले आँखा मिच्दै आफ्नो वरिपरि हेरी । मलाई कुर्सीमा बसेको देखेर उसले सोधी, “अनि त्यो राजकुमारीले भ्यागुतोलाई के गरी ? पूरै कथा सुनाउनुस् न ।”
“जहिले पनि त्यही भ्यागुतो राजकुमारको कथा कति सुन्ने ? नयाँ कथा छैन ?” दुलोभित्रबाट आवाज उही ढड्डु मुसाको आवाज आयो ।
ढड्डु मुसाको कुरा सुनेर माया छक्क परी । उसले भनी, “कस्तो बाठो मुसा रहेछ ! दुलोभित्र बसेर कथा सुन्दो रहेछ ।”
“मेरो छिमेकमा बस्ने मुसाहरुले टेलिभिजन हेर्छन् । यहाँ त कथा सुनेर चित्त बुझाउनु पर्छ । तर ठिकैछ । तिम्रा बालाई धेरै कथा भन्न आउने रहेछ । कथाले टेलिभिजनको धित मार्छ भने किन टेलिभिजन नै हेर्नु पर्यो र ? होइन त माया ?”
ढड्डु मुसाको चिप्लो कुरा सुनेर माया हाँसी । मेरो पनि रिस मर्यो । “तिमीलाई कस्तो कथा मनपर्छ ?” मायाले ढड्डु मुसासँग सोधी ।
“मलाई त मेरै कथा मन पर्छ नि । एउटा मुसाले कसरी जंगलको राजा सिंहलाई जोगायो भन्ने कथा तिमीले सुनेकी छौ ? अहिलेसम्म हामीले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउन सकेका थिएनौँ । तर तिम्रो बुबाले त एक दिन मुसाहरु मिलेर कसरी बिरालोको घाँटीमा घण्टी बाँध्न सफल भयो भन्ने कथाहरु पनि सुनाउनु भयो । साँच्चै तिम्रो बुबाले मुसा राजा भएको अनि मुसाको छोरा युवराज भएको कथा सुनाउनु हुन्न ?”
ढड्डु मुसाको बठ्याइँ बल्ल मैले बुझेँ । मैले भनेँ, “अब तिमी राजा भएको, तिम्रो छोरा युवराज भएको सपना नदेख । त्यो जमाना गयो । अब सबै जना मिलेर बस्न’पर्छ बुझ्यौ ?”
“त्यसो भए मुसाले गल्ती गरेको र बिरालोले मुसालाई सजाय दिएको कथा पनि लेख्न छाड ।” डढ्डु मुसाले भन्यो ।
उसको कुरा सुनेर मलाई रिस उठ्यो, “कस्तो कथा लेख्ने कस्तो नलेख्ने भनेर तिमीले मलाई सिकाउने ? म त स्वाभिमानी लेखक हुँ । मनमा लागेको कथा लेख्छु । तिमीले अह्राएको कुरा लेख्छु र ?”
“ठिकै छ । तिमीले बाघ, भालु, चितुवाको कथा लेख्छौ भने हामीलाई पनि सुन्न कर छैन । जसको कथा हो उसैलाई सुनाऊ ।” भन्दै ढड्डु मुसा दुलोभित्र हरायो ।
हाम्रो कुरा मायाले मात्रै होइन टाटे र पाटेले पनि ध्यान दिएर सुनिरहेका थिए । मुसा हराएपछि मायाले भनी, “मुसाको कुरा ठिकै त हो नि बुवा । टाटेलाई कुकुरको कथा मन पर्छ, पाटेलाई बिरालोको कथा मनपर्छ । होइन त पाटे ?”
तिनीहरुको कुराले मलाई गम्भीर बनायो । मैले भने, “हेर, सबै जना आफू बाठो र बहादुर भएको कथा सुन्न चाहन्छन् । अहिलेसम्म लेखिएका कथाहरुमा यस्तै छ । एउटा पक्षले अर्को पक्षलाई जितेको, मारेको, दास बनाएका कथाहरु धरै छन् । कुराकानी र मेलमिलाप गरेर लडाइँ झगडाको समाधान गरेको कथा लेख्न बाकी नै छ ।”
Leave Your Comment