Logo

Blog Details

स्थायी लेखा नम्बर (PAN) र व्यवसाय करमा दर्ता

SS Team 2025-06-02 21:21:13 31864 5

व्यवसाय गर्ने मानिसले पनि व्यवसायको आर्जनमध्येबाट कानूनमा तोकिएअनुसारको केही रकम करको रूपमा सरकारलाई बुझाउनु पर्दछ। त्यसैले व्यवसाय नियमअनुसार करमा दर्ता गर्नु पर्दछ। उद्योग, व्यापार, पेसा व्यवसायबाट कमाएको पैसा र लगानीबाट हुने आम्दानीको कर लाग्दछ। कुनै प्रकारको उद्योग व्यापार पेसा वा यस्तै प्रकृतिका अन्य कामहरू वा व्यवसाय सञ्चालन गर्नेले नियमअनुसार कर तिर्नु पर्दछ। त्यसैले करमा दर्ता गर्नु अनिवार्य हुन्छ।  

स्थायी लेखा नम्बर (PAN) : कुनै व्यवसाय मार्फत निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति वा निकाय तथा विभागले स्थायी लेखा नम्बर लिनुपर्ने भनी तोकिएका वा स्रोतमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले आय आर्जन गर्नुपूर्व वा करकट्टी गर्नु अगावै आयकरमा दर्ता गर्नुपर्दछ । आयकरमा दर्ता गर्दा कुनै व्यक्ति वा निकायलाई प्रदान गरिने करदाता पहिचान नम्वरलाई स्थायी लेखा नम्बर (Permanent Account Number/PAN) भनिन्छ । यसलाई करदाता पहिचान नम्बर (Taxpayer Identification Number) पनि भनिन्छ।

 

नेपाल सरकारले दुई हजार रुपैयाँभन्दा बढीको कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (PAN) मा दर्ता गर्नुपर्ने प्रावधान ल्याएको छ। उद्योग व्यवसाय गर्ने व्यक्तिले PAN दर्ता नगरी व्यावसायिक कारोबार गरेमा कर नबुझाएमा, नक्कली बिल दिएमा अथवा स्थायी लेखा नम्बर भएको बिल नदिएमा जरिवाना र सजायँ हुने कानूनी व्यवस्था छ। 

उद्योग, व्यापार, पेसा व्यवसाय थालनी गर्नु अगावै  PAN का लागि आवेदन गरी PAN लिनु पर्दछ। एकल स्वामित्वको व्यवसाय हो भने व्यवसाय सम्बन्धी कारोबार गर्न पान नम्बर लिनु पर्दछ। यदि साझेदारीमा कुनै व्यवसाय हो भने छुट्टै PAN लिनुपर्ने हुन्छ। PAN मा दर्ता गर्न कुनै शुल्क लाग्दैन। 

PAN लिनको लागि भर्नुपर्ने निवेदन तथा फारमको ढाँचा नेपाल सरकार आन्तरिक राजश्व विभागको वेबसाइट www.ird.gov.np मा प्राप्त गर्न सकिन्छ। साथै आन्तरिक राजश्व कार्यालयहरू, कोष तथा लेखा नियन्त्रक कार्यालयहरू तथा उद्योग वाणिज्य सङ्घहरूबाट पनि प्राप्त गर्न सकिन्छ।

व्यवसायको लागि पान दर्ता गर्न निम्न कागजपत्रहरु आवश्यक पर्दछ :

क) आवेदन फारम 

ख) व्यवसाय दर्ताको प्रमाणपत्र 

ग) व्यवसायीको दुई वटा फोटो 

घ) नागरिकता प्रमाण पत्रको फोटोकपी (साझेदार भए सबैको दुई-दुई वटा फोटो)

ङ) व्यवसाय सञ्चालन गर्ने ठाउँ देखिने गरी बनाएको नक्सा 

च) भाडामा भए घरभेटीसँग भाडाको सम्झौता गरेको कागज 

PAN दर्ता गरेपछि त्यसको प्रमाण पत्र पनि दिइन्छ। आफूलाई पायक पर्ने क्षेत्रको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा गई पान लिन सकिन्छ। PAN लिन कुनै कर तिर्नु पर्दैन। अनलाइनबाट पनि यो सजिलै लिन सकिन्छ। 

वस्तुको हकमा पचास लाख रुपैयाँ र सेवाको हकमा रु बीस लाखभन्दा बढीको वार्षिक कारोबार गरेमा भ्याट लाग्ने व्यवस्था भएकोले त्यस्ता व्यवसाय गर्नेले मूल्य अभिवृद्धि कर (मू.अ.कर.) अर्थात भ्याटमा दर्ता हुनु पर्दछ। त्यसरी नै ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, स्लेट आदि  र ढुंगा उद्योग सम्बन्धी व्यवसाय सञ्चालन गरेमा तथा महानगरपालिका, उप–महानगरपालिका  वा विभागले तोकेको क्षेत्रभित्र हार्डवेयर, सेनिटरी, फर्निचर, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, कलरल्याब, बुटिक, सुटिङ्ग सर्टिङ्गको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने कार्य वा आइसक्रिम उद्योग सञ्चालन गरेमा पनि भ्याटमा दर्ता हुनु पर्दछ। 

भ्याटको दर्ता पनि पानको दर्ता जस्तै हो। यो दर्ता गर्दा PAN को प्रमाणपत्रमा मू.अ. कर समेत दर्ता भनेर दर्ता मिति समेत उल्लेख हुन्छ। सबै PAN मा दर्ता हुने करदाताहरूलाई मू.अ. करमा दर्ता गर्न अनिवार्य छैन। PAN दर्ताका करदाताहरू मू.अ. करमा परिवर्तन हुन चाहेमा कर कार्यालयको स्वीकृतिपछि मू.अ. करमा परिवर्तन हुन्छ। मू.अ. करमा दर्ता भएका करदाताले मात्र कर बिल जारी गरी मू.अ.कर रकम खरिदकर्ताबाट असुल गर्न सक्दछन्। मु.अ.कर लाग्नेहरूको मू.अ.करको व्यवस्था अनुसार कर तिर्नु पर्दछ। भ्याटमा दर्ता भएका करदाताहरूले बेचबिखन गर्दा भ्याट लाग्ने वा नलाग्ने वस्तु वा सेवा जे भएपनि कर बिल जारी गर्नै पर्छ। 

निम्नअनुसारका वस्तुको कारोबार गर्ने व्यवसायीले भ्याटमा दर्ता गर्नु पर्दैन। 

आधारभूत आवश्यकताका वस्तुहरू, जस्तै: पानी,औषधी उपचारका सामानहरू

  • आधारभूत कृषि उत्पादनहरू, जस्तै : धान, गहुँ 
  • जीवजन्तु तथा तिनका उपजहरूजस्तै : खसी बोका आदि।
  • कृषि सामाग्रीहरु जस्तै :  मल बिउ तथा कृषि औजार आदि।
  • किताब, अखबार र मुद्रण सामग्रीहरू।
  • कलात्मक र कालीगडी सेवा, जस्तै चित्रकला,मूर्तिकला,वास्तुकला आदि।
  • नेपाल सरकारबाट सञ्चालित हुलाक सेवा,वित्तीय तथा बीमा सेवा।  

आफ्नो व्यवसायको आकार, प्रकार र सरकारले तोकेको नियमअनुसार व्यवसाय गर्ने व्यक्तिले आफ्नो व्यवसायलाई अनिवार्यरुपमा करमा दर्ता गर्नु पर्दछ। करमा दर्ता गर्नु र कर तिर्नु व्यवसायीको राज्यप्रतिको कर्तव्य पनि हो। यसले व्यवसायको राम्रो पहिचान हुन्छ र व्यवसाय सञ्चालनमा सरकारबाट पाउन सकिने सेवा सुविधाहरू लिन पनि सजिलो हुन्छ।   

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team